काठमाडौं । बुधबारबाट सुरु भएको साफ पुरुष फुटसल च्याम्पियनसिपमा माल्दिभ्सले सानदार सुरुआत गरेको छ ।
बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न दिनको तेस्रो खेलमा माल्दिभ्सले पाकिस्तानमाथि ७–१ को जित हासिल गर्यो ।
माल्दिभ्सका लागि मोहम्मद इम्रानले दुई तथा अहमद हमीद, अली शियाह, जैधान अहमद, अली शमल अब्दुल्ला र अब्दुल्ला शाफुले समान एक गोल गरे । पाकिस्तानका लागि निसार हुसेनले गरेको गोल सान्त्वना बन्यो । पहिलो हाफमा माल्दिभ्सले ५–० को अग्रता बनाएको थियो ।

दिनको पहिलो खेलमा भुटान र श्रीलंकाले ३–३ को बराबरी खेलेको थियो । दोस्रो खेलमा बंगलादेश र भारतले एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए । यो खेल पनि ४–४ को रोमाञ्चक बराबरीमा टुंगियो ।
माल्दिभ्सले शुक्रबार बंगलादेशसँग खेल्ने तालिका छ । सोही दिन पाकिस्तानले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
