काठमाडौं । नेपाल राष्ट्रिय टिमका सदस्य समीर तामाङ आगामी राष्ट्रिय लिगका लागि सातदोबाटो युथ क्लबमा अनुबन्ध भएका छन् ।
मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–०८० को सुपर सिक्स टिम सातदोबाटोले स्ट्राइकर समीरलाई अनुबन्ध गरेको सामाजिक सञ्जालबाट जानकारी गरायो ।
समीरले पछिल्लो पटक प्लानिङ ब्वाइज युनाइटेडबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग खेलेका थिए । युवा खेलाडी समीरले घरेलु प्रतियोगितामा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
समीरसँगै सातदोबाटोले विदेशी खेलाडी फोडे फोफानालाई अनुबन्ध गरेको छ । फोडे नेपालमा चलनचल्तीमा रहेका विदेशीमध्ये उत्कृष्ट खेलाडीमा गनिन्छन् ।
आज नै चित्लाङ एफसीले राष्ट्रिय लिगको लागि प्रज्वल प्रतिप क्षेत्रीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुस २५ गतेबाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो । यसपटक लिगमा १६ क्लब हुनेछन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १२ क्लब राष्ट्रिय लिग खेल्नेछन् । यसअघि च्याम्पियन चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, नेपाल पुलिस क्लब, जावलाखेल युथ, सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी छनोट भएका थिए ।
तर, सहिद स्मारक लिग गर्न नसकेपछि एन्फाले राष्ट्रिय लिगको लागि खुल्ला छनोट गरेको हो । त्यसपछि यसअघि नै छनोट भएका सुपर सिक्स क्लब, चार राष्ट्रिय लिगमा छनोट भएका क्लबसहित सुपर सिक्समा छनोट नभएका त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब र फ्रेण्ड्स क्लबले राष्ट्रिय लिग खेल्न टिम दर्ता गरेका हुन् ।
हिमालयन शेर्पा क्लबले भने राष्ट्रिय लिग नखेल्ने निर्णय लिएको छ । चर्च ब्वाइज च्याम्पियन हुँदा अघिल्लो लिगमा थ्रीस्टार क्लब र एफसी खुमलटार रेलिगेशनमा परेका थिए ।
