काठमाडौं । स्पेनिस ला लिगामा राति सम्पन्न खेलमा मड्रिडले जित निकालेको छ । २० हजार समर्थकमाझ रियालले घरेलु टोली डिपोर्टिभो अलाभेसविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो ।
टोलीको जितमा केलिएन एम्बाप्पे र रोड्रिगोले गोल गरेका थिए । घरेलु टोलीको लागि कार्लाेस भिसेन्टले एक गोल फर्काएका हुन् ।
खेलको २४औं मिनेटमा एम्बाप्पेले भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा कार्लाेसले बराबरी गोल गरेका हुन् । तर, ७६औं मिनेटमा रोड्रिगोले भिनिसियस जुनियरको पासमा विजयी गोल गरे ।
ला लिगमा १७ मध्ये १२ खेलमा जित निकालेको रियाल ३९ अंकसहित दोस्रो स्थानमा छ । रियालअघि बार्सिलोना रहेको छ । समान खेलबाट ४३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । पराजित डिपोर्टिभो १८ अंकसहित १२औं स्थानमा रह्यो ।
राति नै भएको अन्य खेलमा सेल्टा भिगोले एथ्लेटिको क्लबलाई २–०, सेभियाले रियाल ओभिएडोलार्य ४–० तथा स्पान्योलले गेटाफेलाई १–० ले हराए ।
