काठमाडौं । चेल्सीले युइएफए च्याम्पियन्स लिगमा बुधबार आयाक्सबिरुद्ध ५-१ को सहज जित निकालेको छ ।
जितसँगै तीन खेलमा तीन खेलमा ६ अंक जोडेको चेल्सी ११औं स्थानमा छ । तीनै पराजित आयाक्स विना अंक पुछारमा छ ।
स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई जित दिलाउन मार्क गुइउ, मोइसिस काइसेडो, एन्जो फर्नान्डेज र एस्टेभाओ र टाइरिक जर्जले गोल गरे । आयाक्सका लागि वाउट वेग्होर्स्ट ले गोल फर्काए ।
खेलको १७औं मिनेटमा केनेथ टेलरले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि आयाक्स १० खेलाडीमा समेटिएको थियो । त्यसको एक मिनेटपछि नै गुइउको गोलमार्फत चेल्सीले अग्रता लियो ।
काइसेडोले २७औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ३३औं मिनेटमा वेग्होर्स्टले पेनाल्टीमार्फत आयाक्सका लागि गोल फर्काए ।
फर्नान्डेजले ४५औं मिनेट तथा एस्टेभाआले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा चेल्सीको अग्रता ४-१ मा पुग्यो । दुवैले पेनाल्टीमार्फत गोल गरेका थिए ।
दोस्रो हाफको सुरुआतमै जर्जले चेल्सीका लागि पाँचौं गोल गरे । त्यसपछि खेलमा थप गोल निस्कन सकेन ।