काठमाडौं । आर्सनलले युइएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
आर्सनलले मंगलबार एट्लेटिको मड्रिडविरुद्ध ४-० को एकतर्फी जित दर्ता गर्यो ।
जितसँगै तीन खेलमा ९ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ । पराजित एट्लेटिको समान खेलबाट तीन अंकका साथ १८औं स्थानमा छ ।
इमिरेट्स रंगशलामा घरेलुु टोली आर्सनललाई जित दिलाउन भिक्टर ग्योकेरेसले दुई तथा गाब्रियल म्यागाल्हेस र गाब्रियल मार्टिनेलीले समान एक गोल गरे ।
पहिलो हाफ गोलरिहत बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा म्यागाल्हेसको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । सात मिनेटपछि मार्टिनेलीले टोलीको अग्रता दोब्बर बनाए ।
ग्योकेरेसले ६७ र ७०औं मिनेटमा गोल गर्दै आर्सनललाई एकतर्फी जित दिलाए ।
मंगलबारै सम्पन्न अन्य खेलमा बार्सिलोनाले ओलिम्पियोकसलाई ६-१, पेरिस सेन्ट जर्मनले बायर लेभरकुसनलाई ७-२, इन्टर मिलानले रोयल युनियन सेन्ट गिलोइस तथा बोरुसिया डर्टमन्डले एफसी कोपनहेगनलाई समान ४-०, पिएसभीले नपोलीलाई ६-२, म्यानचेस्टर सिटीले भियारियाललाई २-० र न्युक्यासल युनाइटेडले बेन्फिकालाई ३-० ले पराजित गरे ।