काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । बिहीबार आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भयो ।
हारसँगै नेपालको एसियन कप पुग्ने चुनौतीमा ठूलो धक्का लागेको छ । छनोट प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल हाल अंकतालिकाको पुछारमा छ ।
दोस्रो जित हासिल गरेको भियतनामले लगातार तेस्रो संस्करण एसियन कपमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । भियतनाम यो जितसँगै दोस्रो स्थानमा यथावत छ ।
नेपालले भियतनामलाई पहिलो हाफमा १-१ को बराबरीमा रोकेको थियो । दोस्रो हाफमा १० खेलाडीमा सीमित नेपालको पोस्टमा दुई गोल थप्दै भियतनामले सहज जित हासिल गर्यो ।
साढे ८ हजार घरेलु समर्थकबीच खेलको नवौं मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले भियतनामलाई अग्रतामा ल्याएका थिए ।
खेलको १७औं मिनेटमा नेपालले सेटपीस अवसरलाई गोलमा परिणत गर्यो । मिडफिल्डर रोहन कार्कीको फ्रिकिकलाई राइटब्याक सनीस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए । अन्तर्राष्ट्रिय फुटबलमा सनीसको यो पहिलो गोल हो ।
खेलको २५औं मिनेटमा भियतनामको गोललाई ‘लाइन्सम्यान’ले ‘अफसाइड’को संज्ञा दिएपछि नेपालले राहतको सास फेर्यो ।
इन्जुरी समयमा नेपाल १० खेलाडीमा सीमित हुन पुग्यो । रक्षक सुमन श्रेष्ठको मिस पासमा सृजित भियतनामको ‘काउन्टर’ आक्रमणलाई रोक्ने क्रममा लाकेनले पेनाल्टी बक्स नजिकै विपक्षी खेलाडीलाई फउल गरेका थिए ।
रक्षक फाम ट्वान हाइको गोलमार्फत भियतनामले खेलको ६७औं मिनेटमा पुनः अग्रता लियो । पाँच मिनेटपछि नै भियतनामले अर्को गोल थप्यो । यसपाली वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रक्षक एनगुएन भान भीले गोल गरे ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा आयुष घलानलाई प्रतिस्थापन गर्दै युवा मिडफिल्डर कुशल देउवाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे ।
‘एकदमै खुसी लागेको छ । तर, साँचै भन्दा टिमले हार्दा नराम्रो लाग्दो रहेछ,’ डेब्युपछि कुशलले भने, ‘मिहिनेत गरिरहेको थिएँ । आफ्नो मौका कुरिरहेको थिएँ ।’
हारपछि नेपालका मुख्य प्रशिक्षक म्याथ्यु रसले लाकेनको रातो कार्डले खेलमा फरक परेको तर्क गरे ।
‘एक गोलले पछाडि पर्दा जुन हिसाबले हामीले गोल फर्कायौं । त्यो एकदमै प्रशंनीय छ । म यसमा मेरो खेलाडीप्रति गर्व गर्छु । लाकेनको रातो कार्डका कारण खेलमा फरक ल्यायो । बलियो भियतनामसँग हामीभन्दा एक खेलाडी बढी थियो,’ रसले भने, ‘अवश्य पनि म निराश छु । तर, मेरा खेलाडीले यस्ता कठिन परिस्थितिबाट पाठ सिक्न आवश्यक छ । हामी दोस्रो लेगका लागि आवश्यक तयारी गरेर आउनेछौं ।’
बिहीबारनै सम्पन्न समूहको अर्को खेलमा मलेसियाले लाओसको चुनौती ३-० ले पन्छायो । जितसँगै मलेसिया स्पष्ट तीन अंकका साथ शीर्ष स्थानमा यथावत छ ।
छनोट प्रतियोगिताको पछिल्लो खेलमा नेपालले गत जुनमा कमजोर लाओसविरुद्ध २–१ को हार बेहोरेको थियो । त्यसअघि पहिलो खेलमा मलेसियाले नेपाललाई २-० ले हराएको थियो । नेपालले मंगलबार चौथो खेलमा फेरि भियतनामसँग खेल्ने तालिका छ । भियतनामसँग स्पष्ट तीन अंक हासिल गर्न नसके नेपालको एसियन कप पुग्ने चुनौती सकिनेछ ।
समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्नेछ ।