काठमाडौं । अन्तिम समयमा आत्मघाती गोल उपहार पाउँदा जर्मन क्लब बायर लेभरकुसनले युइएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा बिहीबार डेनमार्कको एफसी कोपनहेगनलाई २-२ को बराबरीका रोकेको छ ।
पार्केन रंगशालामा पाहुना टोली लेभरकुसनका लागि अलेजान्ड्रो ग्रिमाल्डोले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । कोपनहेगनका जोर्डन लार्सन र रोबर्न सिल्भाले गोल गरे ।
खेलको नवौं मिनेटमा लार्सनको गोलमार्फत कोपनहेगनले अग्रता लिएको थियो । ८२औं मिनेटमा ग्रिमाल्डोले लेभरकुसनलाई बराबरीमा ल्याए ।
निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा सिल्भाले गोल गर्दा कोपनहेगन २-१ ले अगाडि बढ्यो । इन्जुरी समयमा कोपनहेगनका प्यान्टेलिस चट्जिडियाकोसबाट आत्मघाती गोल हुन पुग्दा खेल २-२ को बराबरीमा सकियो ।
बिहीबारै सम्पन्न अन्य खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २-१, म्यानचेस्टर सिटीले नापोलीलाई २-०, आइन्ट्राक्ट फ्रान्कफर्टले गालाटासारेलाई ५-१ तथा स्पोर्टिङले एफसी कैरात र क्लब ब्रुगले मोनाकोलाई समान ४-१ ले पराजित गरे ।