काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपालले बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्पलेक्स’मा खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुनेछ ।
पछिल्ला दुई संस्करणको उपविजेता बंगलादेशविरुद्ध मैदान उत्रिरहँदा नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर हुनेछ । बंगलादेशलाई हराए नेपालले यो उपलब्धि हासिल गर्नेछ ।
तीन टोली रहेको समूह ‘ए’मा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाको चुनौती २-० ले पन्छाएको थियो । श्रीलंकाविरुद्ध नेपालका लागि दुवै गोल स्ट्राइकर समीर कुमारले गरेका थिए । बंगलादेश भने प्रतियोगिताको पहिलो खेल खेल्दैछ ।
तल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालको छवि बलियो छ । प्रतियोगिता १०औं संस्करणसम्म आइपुग्दा यी दुई सातपटक आमने-सामने भएका छन् । जसमा नेपालले चार खेल आफ्नो पक्षमा पारेको छ । दुई खेल बंगलादेशले जितेको छ भने एक खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

यी दुईको पछिल्लो भेट सन् २०२३ मा भुटानमा सम्पन्न आठौं संस्करणमा भएको थियो । जतिबेला बंगलादेशले नेपाललाई २-१ ले हराएको थियो ।
सात हप्ता बन्द प्रशिक्षणमा बिताउँदै बंगलादेश प्रतियोगिताका लागि श्रीलंका आइपुगेको छ । नेपालले भने मात्र तीन हप्ताको प्रशिक्षण समय पाएको थियो ।
प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशका मुख्य प्रशिक्षक रब्बानी छोटोनले नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने प्रतिक्रिया दिएका थिए ।
उनले भनेका थिए, ‘दक्षिण एसियामा हामी सबै प्रतिद्धन्द्धीलाई उत्तिकै सम्मान दिन्छौं । नेपाल राम्रो प्रतिद्धन्द्धी हो । यो खेल वास्तवमै प्रतिस्पर्धात्मक हुनेछ । समर्थकले खेल हेरेर मज्जा लिन पाउनेछन् ।’
श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा दुई सुनौला अवसरलाई गोलमा परिणत गर्न सकेको थिएन । बंगलादेशविरुद्ध अघिल्लो खेलमा गरेका गल्तीहरु नदोहोर्याउने मुख्य प्रशिक्षक सञ्जित सिंहले बताए । उनले भने, ‘श्रीलंकाको खेलमा भएका कमि–कमजोरीलाई सच्याएर खेल्नेछौं । बढीभन्दा बढी बल पोसेसन राखेर खेल्नेछौं । जित्नैका लागि खेल्ने हो ।’