काठमाडौं । नेपाली फुटबलका उदीयमान गोलकिपर जियारथ सेख सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भएका छन् ।
नेपालको तल्लो र माथिल्लो दुबै उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका जियारथ बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
गत जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनमा धनगढी एफसीको जर्सीमा देखिएका जियारथलाई नेपाली फुटबलको भविष्यका रुपमा हेरिएको थियो । धनगढीअघि जियारथले एनएसएलको दोस्रो सिजन काठमाडौं रेजर्सबाट खेलेका थिए । २०८० को जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा २२ वर्षीय जियारथले मनाङको प्रतिनिधित्व गरेका थिए ।
पछिल्लो समय जियारथ राष्ट्रिय यु-२३ टोलीको बन्द प्रशिक्षणमा थिए । तर, ताजकिस्तानमा सम्पन्न एएफसी एसियन कप छनोट प्रतियोगिताका लागि २३ सदस्यीय अन्तिम टोलीमा भने अटाएनन् ।
दुई वर्षअघि काठमाडौंमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा सम्झनलायक प्रदर्शन गरेपछि जियारथको चर्चा चुलिएको थियो । त्यतिबेला सुनिल श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोलीमा जियारथले कप्तानको ‘आर्मब्यान्ड’ लगाएका थिए । भारतविरुद्धको सेमिफाइनलमा जियारथले टाइब्रेकरमा दुई पेनाल्टी प्रहारलाई बचाएका थिए ।
एक वर्षपछि नेपालमै भएको साफ यु–२० च्याम्पियनसिपमा पनि उनको प्रदर्शन तारिफयोग्य रह्यो । उर्जन श्रेष्ठको नेतृत्वमा रहेको युवा टोलीका उनी उप–कप्तान थिए । जतिबेला उनकै दुई पेनाल्टी बचाउमा नेपालले भुटानलाई टाइब्रेकरमा हराउँदै फाइनलकोे यात्रा गरेको थियो ।