काठमाडौं । श्री भगवती क्लबले एन्फा यु-१६ युथ लिगमा बुधबार सातदाबाटो युथ क्लबविरुद्ध ६-२ को सानदार जित दर्ता गरेको छ ।
जितसँगै १५ खेलमा १७ अंक जोडेको श्री भगवती नवौं स्थानमा उक्लिएको छ । १५ वटै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा श्री भगवतीलाई जित दिलाउन निशान्त थनेटले दुई तथा आर्यन भण्डारी, सरुण महतो , सरिन थिङ र दिपेश शाहीले समान एक गोल गरे । सातदोबाटोका लागि सर्जकध्वज थापा र अश्विन पौडेलले गोल फर्र्काए ।
खेलको १०औं मिनेटमा आर्यनको गोलमार्फत श्री भगवतीले अग्रता लिएको थियो । ४४औं मिनेटमा निशान्तले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा सर्जकले सातदोबाटोका लागि पहिलो गोल फर्काए । इन्जुरी समयमै सरुणले गोल गर्दा श्री भगवती ३-१ ले अगाडि बढ्यो ।
अश्विनले ७२औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर पाँच मिनेटपछि नै सरिनले गोल गर्दा श्री भगवतीको अग्रता ४-२ मा पुग्यो ।
दिपेशले ८३औं मिनेटमा श्री भगवतीका लागि पाँचौं गोल गरे । ८७औं मिनेटमा मुक्सन राईले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि सातदोबाटो १० खेलाडीमा समेटिएको थियो ।
खेलको इन्जुरी समयमा निशान्तले व्ययक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे ।
बुधबारै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्सले पुलिसलाई २-१ ले पराजित गर्यो ।