काठमाडौं । मनाङ मर्स्याङदी क्लबले एन्फा यु-१६ युथ लिगमा सोमबार सातदोबाटो युवा क्लबविरुद्ध ६-२ को सहज जित दर्ता गरेको छ ।
जितसँगै १५ खेलमा ३४ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ । १५ वटै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मनाङलाई जित दिलाउन प्रकाश सिंहले पाँच तथा साकिन कुँवरले एक गोल गरे । सातदोबाटोका लागि सुनिल विश्वकर्मा र युवराज भट्टराईले गोल फर्काए ।
खेलको पहिलो मिनेटमै प्रकाशको गोलमार्फत मनाङले अग्रता लिएको थियो । सात मिनेटपछि प्रकाशले नै पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए ।
सुनिलले ११औं मिनेटमा सातदोबाटोका लागि पहिलो गोल फर्काए । १४औं मिनेटमा प्रकाशले ह्याट्रिक पूरा गरे ।
युवराजले २४औं मिनेटमा गोल गर्दा खेल ३-२ को स्थितीमा आयो । प्रकाशले ३६औं मिनेटमा व्यक्तिगत तथा मनाङका लागि चौथो गोल गरे ।
प्रकाशले ४२औं मिनेटमा पेनाल्टीमार्फत पाँचौं गोल गर्दा मनाङले पहिलो हाफमा ५-२ को अग्रता लियो ।
साकिनले ५३औं मिनेटमा टोलीका लागि छैटौं गोल गरे । दुई मिनेटपछि नै धरविन्द्र बोहराले रातोे कार्ड बेहोर्दै मैदान छाडेपछि मनाङ १० खेलाडीमा समेटिएको थियो । तर त्यसले नतिजामा कुनै असर गरेन ।
सोमबारै सम्पन्न अन्य खेलमा श्री भगवतीले हिमालयन शेर्पालाई २-१ तथा जावालाखेलले आर्मीलाई ३-० ले पराजित गरे ।