काठमाडौं । सरिता विकको उत्कृष्ट प्रदर्शनप्ररित आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले एन्फा महिला लिग छनोटमा सोमबार सिन्धुपाल्चोक एफसीविरुद्ध ८-३ को सानदार जित दर्ता गरेको छ ।
दोस्रो जितसँगै आरएस रिसोर्टले तीन खेलमा ६ अंक जोडेको छ । तीनै खेलमा पराजित सिन्धुपाल्चोक अंकविहिन छ ।
च्यासल मैदानमा आरएस रिसोर्टलाई जित दिलाउन सरिताले चार, इशा चौधरीले दुई तथा सलिना सरु र तुलसी शाहीले समान एक गोल गरे । सिन्धुपाल्चोकका लागि अनु भुसालले दुई तथा मिन्जल लामाले एक गोल गरे ।
खेलको सातौं मिनेटमै अनुको गोलमार्फत सिन्धुपाल्चोकले अग्रता लिएको थियो । तर पाँच मिनेटपछि नै इशाले आरएस रिसोर्टलाई बराबरीमा ल्याइन् ।
सलिनाले ३२औं मिनेटमा गोल गर्दा आरएस रिसोर्ट २-१ ले अगाडि बढ्यो । सात मिनेटपछि सरिताले टोलीका लागि तेस्रो गोल गरिन् ।

मिन्जलले ४४औं मिनेटमा गोल गर्दा खेल ३-२ को स्थितीमा आयो । ५६औं मिनेटमा अनुले व्यक्तिगत दोस्रो गोल गर्दै सिन्धुपोल्चोकलाई ३-३ को बराबरीमा ल्याइन् ।
इशाले ५९ र सरिताले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आरएस रिसोर्टको अग्रता ५-३ मा पुग्यो ।
सरिताले ८५औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा सरिताले व्यक्तिगत चौथो तथा टोलीका लागि सातौं गोल गरिन् ।
इन्जुरी समयमा तुलसीले गोल गर्दा आरएस रिसोर्टले ८-३ को सानदार जित निकाल्यो ।