काठमाडौं । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली युवा टोली जुन लक्ष्यका साथ मैदानमा उत्रिएको थियो । त्यसमा टोलीले सफलता हासिल गर्न सकेन ।
साफ यु-१७ च्याम्पियनसिप २०२५ को उद्घाटन खेलमा बुधबार नेपालले भारतसँग ७-० को फराकिलो हार बेहोर्यो ।
नेपाल पहिलो खेलमा सकारात्मक नतिजा ल्याउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्थ्यो । खेलाडीको मनमा भारतविरुद्ध बदलाको भावना थियो । तर, सुरुआती १५ मिनेटबाहेक खेलअवधिभर भारतविरुद्ध नेपाली कलिला किशोरीहरु निरीह देखिए ।
खेलको १२औं मिनेटमा नेपालले गोलको सुनौलो अवसर प्राप्त गरेको थियो । तर, उक्त मौकालाई स्ट्राइकर यमकुमारी बिकले सदुपयोग गर्न सकिनन् ।
विपक्षी रक्षापङ्क्तिबाट ‘मिस पास’ भएपछि बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी यामले गोललाई पोस्टको दिशा दिएकी थिइन् । तर, गोलकिपर मुन्नीले यमकुमारीको प्रहारलाई बचाइन् । प्राप्त रिबाउन्ड बलमा यमकुमारीले फितलो प्रहार गर्दा भारतले राहतको सास फेरेको थियो । भारतले नेपालबाट सामना गर्नुपरेको खतरा यही मात्र रह्यो ।
यमकुमारीको यो अवसर सदुपयोग नुहँदा खेलाडीको मनोबल घटेको मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ प्रतिक्रिया दिन्छन् ।
भन्छन्, ‘यमकुमारीको अवसर गोलमा परिणत भएको भए खेलले अर्कै रुप हुन्थ्यो । त्यो गोल नहुँदा हाम्रा खेलाडीको मोरल डाउन भयो । भारतको भने अप भयो,’ श्रेष्ठले खेलपछि भने, ‘भारतले हरेक अवसरलाई सदुपयोग गरे । हामीबाट त्यो हुन सकेन । आगामी खेलमा यसलाई सुधार्छौँ ।’
खेलको १६औं मिनेटमा अट्याकिङ मिडफिल्डर अभिस्ट बस्नेतले कर्नर क्रसलाई सदुपयोग गर्दै भारतलाई अग्रतामा ल्याएकी थिइन् । त्यसपछि पहिलो हाफ सकिँदासम्म नेपालले अर्को चार गोल खायो । दोस्रो हाफमा भारतले थप दुई गोल गर्यो । खेलअवधिभर भारतको आक्रमणलाई रोक्न नेपाली रक्षापङ्क्तिलाई हम्मे परेको थियो ।
नेपालले गत वर्ष सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपमा भारतसँग १०-० को नमिठो हार बेहोरेको थियो । त्यसैले नेपाली खेलाडीको मनमा बदलाको भावना थियो । जुन पूरा हुन सकेन । भारतविरुद्ध नेपाली किशारीहरु निरीह देखिए ।
बुधबार भारतबाट लगातार दोस्रो संस्करण नेपालको पोस्टमा आधा दर्जनभन्दा बढी गोल गर्दा नेपालको साफ च्याम्पियनसिप जित्ने अभियानमा नकारात्मक असर परेको छ ।
डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने प्रतियोगिताको सेट–अप छ । त्यसैले तत्कालका लागि डराइहाल्ने अवस्था पनि छैन । तर, भारतविरुद्ध टोलीले जुन किसिमको प्रदर्शन गरेको छ, त्यो भने वास्तवमै चिन्ताजनक छ ।
नेपालका अरु दुई प्रतिद्धन्द्धी हुन्, साबिक विजेता बंगलादेश र घरेलु टोली भुटान । नेपालले शुक्रबार आफ्नो दोस्रो खेलमा भुटानको सामना गर्नेछ । त्यसको दुई दिनपछि नेपालले बंगलादेशसँग खेल्नेछ । यसका लागि टोली तयार छ ?
मुख्य प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘हामी भारतसँग गरेका गल्तीहरु दोहोर्याउने छैनौं । ती गल्तीहरुलाई सच्याउँछौं । आउने खेलहरुमा राम्रो प्रदर्शन गर्नेछौं ।’