काठमाडौं । बुटवल लुम्बिनी एफसीले एन्फा महिला लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुटवलले नेपाल वेस्ट म्यानेजमेन्ट क्लबविरुद्ध २-० को जित निकाल्यो ।
लगातार दोस्रो जितसँगै बुटवलले समूह ‘बी’ मा दुई खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा बुटवलले लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरलाई १-० ले पराजित गरेको थियो ।
यता दुवै खेलमा पराजित नेपाल वेस्ट म्यानेजमेन्ट अंकविहिन छ । पहिलो खेलमा टोलीले झापा एफसीसँग ७-० ले हार बेहोरेको थियो ।
बुटवललाई जित दिलाउन करुणा परियार र सुस्मा लिम्बुले गोल गरे ।
खेलको ३९औं मिनेटमा करुणाको गोलमार्फत बुटवलले अग्रता लिएको थियो । ७३औं मिनेटमा सुस्माले टोलीको अग्रता दोब्बर बनाए ।
पुनमबेध लिम्बु ९०औं मिनेटमा पेनाल्टीमा चुक्दा नेपाल वेस्ट म्यानेजमेन्टले गोल अन्तर कम गर्ने अवसर गुमायो ।
बुधबारै सम्पन्न खेलमा राप्ती फुटबल क्लबले सिन्धुपाल्चोक एफसीविरुद्ध १-० को जित दर्ता गर्यो ।