काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भारतविरुद्ध ७-० को फराकिलो हार बेहोरेको छ ।
बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भारतलाई जित दिलाउन अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई जुलन नोन्गमाइथिमले समान एक गोल गरे ।
खेलको १४औं मिनेटमा अविस्ताको गोलमार्फत भारतले अग्रता लिएको थियो । ९ मिनेटपछि नै निराले टोलीको अग्रता दोब्बर बनाइन् ।
अनुष्काले ३३औं मिनेटमा गोल गर्दा भारतको अग्रता ३-० मा पुग्यो । ४१औं मिनेटमा अविस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् ।
पहिलो हाफको इन्जुरी समयमा जुलनले गोल गर्दा भारतले ५-० को आरामदायी अग्रता बनायो ।
निराले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा भारतको अग्रता ६-० मा पुग्यो । ६३औं मिनेटमा अनुष्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरिन् ।