काठमाडौं । विभागीय टोली एपिएफ फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा आइतबार सातदोबाटो युथ क्लबविरुद्ध ५-० को एकतर्फी जित दर्ता गरेको छ ।
जितसँगै १३ खेलमा २३ अंक जोडेको एपिएफ आठौं स्थानमा छ । १३ वटै खेलमा पराजित सातदोबाटो विना अंक पुछारमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन असिम खड्काले दुई तथा पुजन ढकाल, आदर्श मेचे र प्रशिश खनालले समान एक गोल गरे ।
खेलको १२औं मिनेटमा पुजनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ४३औं मिनेटमा आदर्शले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको दुई मिनेटपछि नै असिमले गोल गर्दा एपिएफले पहिलो हाफमै ३-० को आरामदायी अग्रता लियो ।
प्रशिशले ५१औं मिनेटमा गोल गर्दा एपिएफ ४-० ले अगाडि बढ्यो । ८०औं मिनेटमा असिमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे ।
आइतबारै सम्पन्न पहिलो खेलमा संकटा र हिमालयन शेर्पा १-१ को बराबरीमा रोकिए ।