काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिका वडा नं ८ मा आधुनिक खेलमैदान निर्माण हुने भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ, सर्लाहीको पहलमा रंगशाला बन्ने पक्का भएको हो ।
नेपाल सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलमैदान निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजित गरिएको छ ।
खेलकुद विकासको माध्यमबाट युवाहरुलाई सकारात्मक उर्जा दिने उद्धेश्यसहित अगाडि बढिरहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ, सर्लाही जिल्लाका सभापती रोजित केसीले जानकारी गराए ।
केसी अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन् । उमेर समूहमा नेपालको कप्तानको आर्मब्यान्डसमेत लगाएका केसी आफ्ना समय गज्जबका मिडफिल्डर थिए ।
‘यो एउटा संस्थाको एकल प्रयासबाट मात्र सम्भव भएको होइन, यो सामूहिक संकल्प, जनप्रतिनिधिहरुको दूरदृष्टि र खेलप्रेमीहरुको अटुट साथको उपज हो,’ केसीले भने, ‘यो रंगशालाले सर्लाहीलाई राष्ट्रियस्तरमा चिनाउने छ । खेलकुद क्षेत्रको विकासले हाम्रो युवा पुस्तामा अनुशासन, आत्मबल, नेतृत्व क्षमता र राष्ट्रिय गौरवप्रति निष्ठा विकास गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’