काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली भुटानविरुद्ध दूर्भाग्यजनक १-१ को बराबरी खेलेको छ ।
बुधबार राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’को दोस्रो खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन । पछिल्लो दुई भेटमा भुटानको पोस्टमा १४ गोल गरेको नेपालले यसपाली कुनै पनि राम्रो आक्रमण बुन्न सकेन ।
नेपालले अट्याकिङ मिडफिल्डर सेनु परियारको गोलमा खेल सुरु भएको ३८ सेकेन्ड्समै अग्रता लिएको थियो । अर्की अट्याकिङ मिडफिल्डर सुक्रिया मियाले लेफ्ट साइडबाट दिएको क्रसलाई बक्सभित्र विपक्षी रक्षकको निगरानीमा नरहेकी सेनुले सदुपयोग गरिन् । सेनुले बल नियन्त्रण गर्न दौडिएकी गोलकिपर पेमा याङ्जोमलाई बिट गर्दै सहज गोल गरेकी थिइन् ।
भुटानले १८औं मिनेटमा केल्देन वाङ्मोको गोलमा बराबरी गर्यो । केल्देनले नामसेल वाङजोमको पासलाई सदुपयोग गरिन् । नेपाली गोलकिपर लीला जोशीलाई बिट गर्नुअघि केल्देनले राइट ब्याक सिम्रन राईलाई छक्याएकी थिइन् ।
दोस्रो हाफमा भुटानले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल हार टार्न सफल रह्यो ।
बराबरीसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-२० एसियन कपको १२औं संस्करणमा छनोट हुने नेपालको लक्ष्यमा धक्का पुगेको छ । समूह ‘ए’मा भुटान र नेपालसँगै साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरिया छन् । उत्तर कोरिया एसियन कप र फिफा विश्वकप दुवैको साविक विजेता हो ।
छनोट प्रतियोगितामा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने यु–२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउने सेटअप छ । समूह चरणपछि तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने भएकाले नेपालसँग तुलनात्मक रूपमा कमजोर मानिएको भुटानविरुद्ध तीन अंक हासिल गर्नुबाहेकको विकल्प थिएन ।
दिनको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियामाथि १५-० को सानदार जित हासिल गरेको थियो ।
नेपालले अब दोस्रो खेलमा शुक्रबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । समूहको अन्तिम खेलमा आइतबार नेपाल र उत्तर कोरिया आमने–सामने हुनेछन् ।