काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)माथि ३–० को जित हासिल गर्दै इङ्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको च्याम्पियन बनेको छ ।
आइतबार राति न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा अट्याकिङ मिडफिल्डर कोल पाल्मर चम्कँदा चेल्सीले पिएसजीलाई स्तब्ध पारको हो । सुरुआती दुई गोल गरेका पाल्मरले जाओ पेड्रोको तेस्रो गोलका लागि असिस्ट दिएका थिए । तीनवटै गोल पहिलो हाफमा सम्भव भएको हो ।
करिब साढे ८१ हजार दर्शकको उपस्थिति रहेको फाइनल खेलपछि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले चेल्सीका कप्तान रिस जेम्सलाई ट्रफी हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पाल्मर चुनिए भने गोल्डेन ग्लोब चेल्सीकै गोलकिपर रोबर्ट सान्चेजले प्राप्त गरे । त्यस्तै युवा खेलाडीको पुरस्कार पिएसजीका डेजोरे डुअे र उच्च गोलकर्ताको पुरस्कार रियाल मड्रिडका गोन्जालो गार्सियाले जिते ।
यस सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो । एन्जो मरेस्काको नेतृत्वमा रहेको चेल्सीले साढे एक महिनाअघि युइएफए कन्फरेन्स लिगको उपाधि जितेका थिए ।
हारसँगै पिएसजी सिजनको पाँचौं उपाधि जित्न बञ्चित रह्यो । प्रशिक्षक लुइस एनरिकेका नेतृत्वमा पिएसजीले यो सिजन घरेलु लिग, लिग वान, घरेलु प्रतियोगिता कोपा डे फ्रान्स, ट्रफी डेस च्याम्पियन्स र च्याम्पियन्स लिगको उपाधि जितेको छ ।