काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० महिला च्याम्पियनसिपको पहिलो खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकाविरुद्ध ९-१ को फराकिलो जित हासिल गरेको छ ।
राजधानी ढाकास्थित बसुन्धरा किङ्गस एरिना रंगशालामा सम्पन्न उद्घाटन खेलमा बंगलादेशको जितमा मोसम्मत सागोरिकाले ह्याट्रिक गरिन् । त्यस्तै मोसम्मत मुन्की अख्तरले दुई गोल गर्दा सप्ना रानी, सिन्हा जाहान सिखा, रुपा अख्तर र शान्ती मार्दीको नाममा समान एक गोल रह्यो । श्रीलंकाले इन्जुरी समयमा एक गोल गरेको थियो ।
पहिलो हाफमा चार गोलको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा थप पाँच गोल गर्यो । जितसँगे बंगलादेशले स्पष्ट तीन अंक जोड्यो ।
दिनको दोस्रो खेलमा नेपाल र भुटान आमने–सामने हुँदैछन् । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे हुनेछ ।
चार टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोविन पद्धत्तिमा हुनेछ । समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।