काठमाडौं । स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारीको ह्याट्रिकप्रेरित एएफसी एसियन कप छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले लगातार दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ ।
बुधबार उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा सम्पन्न खेलमा समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्धन्द्धी श्रीलंकालाई ८-० ले निराश पार्यो । पहिलो खेलमा लाओसलाई ९-० ले हराएको नेपाल यो जितसँगै हालका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपालले दुवै हाफमा समान चार गोल गरेको हो । नेपालका लागि सावित्राबाहेक गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक गोल गरे । खेलमा अनिता बस्नेतले तीन गोलमा असिस्ट प्रदान गरिन् ।
खेलको सुरुआती दुई गोल गोल भेट्रान मिडफिल्डर अनिता बस्नेतको असिस्टमा सम्भव भएको हो । अनिताको कर्नर क्रसमा विपक्षी रक्षकबाट कुनै पनि निगरानीमा नरहेकी गीताले हेडमार्फत सहज गोल गरिन् । त्यसको चार मिनेटपछि अनिताको कटब्याकमा सावित्राले वान टचमा सहज गोल गरिन् ।
पहिलो हाफ सकिन तीन मिनेट बाँकी छँदा अर्का स्ट्राइकर रश्मीकुमारी घिसिङको कटब्याकमा सावित्राले वान टचमै व्यक्तिगत दोस्रो गोल गरिन् । सावित्राको लोफ्टेड बलले दोस्रो बारको जाली चुमेको थियो ।
इन्जुरी समयमा मिडफिल्डर सविता रानामगरको क्रसमा सावित्राले हेडमार्फत व्यक्तिगत तेस्रो गोल गर्दा नेपालले पहिलो हाफमा चार गोलको अन्तर बनायो । प्रतियोगितामा सावित्राको यो लगातार दोस्रो ह्याट्रिक हो । पहिलो खेलमा सावित्रा एक्लैले चार गोल गरेकी थिइन् ।
खेलको ५३औं मिनेटमा विपक्षी रक्षकले रश्मीलाई बक्सभित्र लडाएपछि नेपालले पेनाल्टी अवसर प्राप्त गर्यो । जसमा गीता चुकिनन् । ६२औं मिनेटमा गीताकै सेन्टर ब्याक पार्टनरमध्य एक निशा थोकरले करिअरकै पहिलो गोल गरिन् । अनिताको कर्नरमा अग्लो कद भएकी निशाले हेडमार्फत सहज टोलीलाई ६ गोलको अग्रतामा ल्याइन् ।
खेलको ७८औं मिनेटमा पुजा रानाको पासमा रेखा पौडेलले हेडमार्फत सहज गोल गर्दा नेपालले सात गोलको अग्रता लियो । दुबै खेलाडी वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा पुजाले पनि स्कोरसिटमा आफ्नो नाम लेखाउन सफल भइन् ।
नेपालले अब अन्तिम तथा निर्णायक खेलमा शनिबार उज्वेकिस्तानसँग खेल्नेछ । राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणमा स्थान बनाउनेछ ।