काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई लगातार दोस्रो खेलमा आराम दिँदा अञ्जना रानामगरले फेरि एकपटक गोलपोस्टको जिम्मेवारी पाएकी छन् ।
समूह ‘एफ’को पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको थियो । डी वाइल्डले लाओसविरुद्ध उत्रिएको पहिलो रोजाईमा एक परिवर्तन गरेका छन् । उनले सरु लिम्बूको स्थानमा प्रीति राईलाई मैदानमा उतारेका छन् ।
स्ट्राइकर सावित्रा भण्डारीको कप्तानीमा नेपाल लगातार दोस्रो खेलमा ३–२–३–२ शैलीमा मैदान उत्रिँदैछ । रक्षापङ्क्तिको जिम्मेवारी गीता रानामगरसँगै निशा थोकर र समीक्षा घिमिरेले पाएका छन् । पिभोट रोलमा प्रीतिले सरस्वती हमाललाई साथ दिनेछिन् ।
मिडफिल्डको अघिल्लो भागमा रहेर रेणुकाले मध्यभाग सम्हाल्दा सविता रानामगरले वायाँ तथा अनिता बस्नेतले दायाँ विंग्सबाट नेपाली टिमको खेल बुन्नेछन् ।
अग्रपङ्क्तिमा सावित्रालाई रश्मीकुमारी घिसिङले साथ दिनेछन् ।
खेल उज्वेस्तिानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाली समयअनुसार अहिले ६ः१५ बजे हुनेछ ।