काठमाडौं । थ्री स्टार क्लबलाई ‘बी’ डिभिजनमा झार्ने एन्फा अपिल कमिटीको निर्णयमा आपत्ति जनाउँदै क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)को सहायक महासचिव पदबाट राजीनामा दिएका छन् ।
आफ्नो क्लबमाथि एन्फाले लगातार अन्याय गरेको आरोपका साथ जोशीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
जोशीले दुई वर्षअघि सम्पन्न लिगको विषयमा निर्णय लिन ढिलाई गरेकोले एन्फामाथि शंका गर्नुपर्ने अवस्था सिर्जना भएको विचार राखेका छन् । उनले जावलाखेल युथ क्लबविरुद्धको खेलमा भिसा नभएका खेलाडी खेलाएको अभियोगमा क्लब कार्वाही परेको प्रशंगमा पनि तेस्रो पक्षका रुपमा एपिएफले दिएको उजुरी लिनु एन्फाको त्रुटी रहेको जिकिर गरे ।
एन्फा आफैले फिफा कनेक्टमा भिसा सकिएका दुई विदेशी खेलाडीलाई दर्ता गराउनुबाट थप शंका उत्पन्न भएको उनको भनाई थियो । एन्फाका तत्कालिन फिफा कनेक्ट अफिसर अमित खत्रीले ‘सचिवालयको निर्देशनअनुसार भिसा सकिइसकेका खेलाडीलाई दर्ता गराएको’ भन्दै दिएको प्रतिक्रियाका कारण एन्फाको नियतमाथि नै प्रश्न उठेको जोशीको जिकिर छ ।
आफू क्लबको अध्यक्ष तथा एन्फाको सहायक महासचिवको जिम्मेवारीमा रहेको बेला भएको लिगबाट आफ्नै क्लब दोस्रो डिभिजनमा झर्ने निर्णय भएपछि नैतिकताका आधारमा एन्फाको पद छोडेको जोशीको भनाई छ । उनले सहायक महासचिवबाट राजीनामा दिएपछि आफू सम्पूर्ण रुपमा थ्री स्टार क्लबको अभियानमा समर्पित हुने बताएका छन् ।
‘२०७९/०८० को सहिद स्मारक ‘ए’ डिभिजन लिग हुँदा म थ्री स्टार क्लबको अध्यक्ष थिएँ । नेपाली फुटबलको विकासका लागि आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यका साथ एन्फाको सहायक महासचिवको जिम्मेवारी लिएको थिएँ । मैले आफ्नो जिम्मेवारी आजको मिति सम्म इमान्दारीपूर्वक निर्वाह गरिहेको छु । तर, एन्फाले थ्री स्टार क्लब माथि पूर्वाग्रह राखेर अन्याय गरेको कारण, क्लबको प्रतिनिधित्व गर्दै एन्फामा जिम्मेवारी सम्हालेको मलाई आफ्नै क्लबमाथिको कारवाही पछि नैतिकताका आधारमा सहायक महासचिवको पदमा बसिराख्न उपयुक्त लागेन । आगामी दिनमा थ्री स्टार क्लबले लिने कदममा मेरो उपस्थिति र समर्थन रहने भएकाले आजैको मितिबाट लागू हुने गरि मेरो राजीनामा स्वीकृतीका लागि यो निवेदन पेश गरेको छु,’ जोशीले राजीनामा पत्रमा लेखेका छन् ।
दुई वर्षअघि सम्पन्न लिगमा जावलाखेल युथ क्लबविरुद्धको विवादास्पद खेलको नतिजा १-० ले पक्षमा पार्दै थ्री स्टारले रेलिगेसन टारेको थियो । तर सोही नतिजाका कारण रेलिगेसनमा परेको सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले उक्त खेलमा थ्री स्टारले भिसा सकिइसकेका दुई विदेशी खेलाडी खेलाएको भन्दै उजुरी गरेको थियो ।
एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार पनि खेलाउन नपाउने जिकिर गर्दै त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३-० को नतिजामा पराजित हुने नियमअनुसार कावारही गर्न एन्फामा २०८० जेठ २८ गते उजुरी गरेको थियो ।
उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको ठहर गरेको थियो । तर अवैधानिक खेलाडी खेलाएवापत अनुशासन समितिले थ्री स्टार क्लब र सम्बन्धित खेलाडीलाई नगद जरिवानामात्र गरेको थियो ।
अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्री स्टार र एपिएफ दुवैले अपिल गरेका थिए । जसमा गत बिहीबार अपिल कमिटीले अवैधानिक खेलाडी खेलाएवापत थ्री स्टार क्लब उक्त खेलमा ३-० को नतिजामा पराजित हुने निर्णय गर्यो । योसँगै थ्री स्टारले शीर्ष डिभिजनको हैसियत गुमाएको थियो ।