काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा वीरगंज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती युवा क्लबविरुद्ध अप्रत्याशित हार बेहोरेको छ ।
मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा इन्जुरी समयको गोलमा पुछारमा रहेको नयाँबस्तीले तेस्रो स्थानको वीरगंजलाई १-० ले निराश पारेको हो । नयाँबस्तीका लागि श्री कृष्ण तामाङले गोल गरे ।
लिगमा नयाँबस्तीको यो पहिलो जित हो । जितसँगै नयाँबस्ती पाँच खेलमा पाँच अंक जोड्दै आठौं स्थानमा उक्लियो । यो हारले वीरगंज युनाइटेडले शीर्षताको अभियानमा अंक दूरी बढाउने अवसर गुमायो । यो नतिजासँगै वीरगंज पाँच खेलमा आठ अंक जोड्दै तेस्रो स्थानमा यथावत रह्यो । वीरगंज शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडभन्दा सात अंकले पछाडि छ ।
नयाँबस्तीले इन्जुरी समयमा सेटपीस अवसरलाई सदुपयोग गर्यो । राइट साइडबाट जमीन लक्समले दिएको फ्रिकिक क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेका श्री कृष्णले हेडर गोल गरे ।
मंगलबार दिनको पहिलो खेलमा अपराजित प्लानिङ ब्वाइजले सरस्वती युवा क्लबमाथि ३-० को सहज जित हासिल गर्यो । लगातार तेस्रो खेलमा हार बेहोरेको सरस्वती ६ अंकका साथ सातौं स्थानमा छ ।
लिगमा बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा झापा एफसीले रानीपोखरी कर्नर टिम (आरसीटी)को सामना गर्नेछ । खेल दिउँसो १२ः१५ बजे हुनेछ । ३ः४५ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले टुसाल युवा क्लबसँग खेल्नेछ ।