काठमाडौँ । सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज (मंगलबार) हुँदै छ । फाइनल प्रवेशका लागि आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ । आयोजक टिमको कप्तान विकेश कुथु छन् भने एनआरटीको कप्तान अञ्जन विष्ट हुन् ।
क्वाटरफाइनलमा बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २-१ ले पराजित गरेको थियो । पुलिससँग १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको थियो ।
एनआरटीले भने फ्रेन्ड्स क्लबलाई ३-१ ले हराएको थियो । एनआरटीका अञ्जन विष्टले २ गोल गर्दै सानदार प्रदर्शन गरेका थिए । दुवै टिम उत्कृष्ट लयमा रहेकाले आजको सेमिफाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । आजको विजेताले बिहीबार उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा संकटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा ८-७ को जित निकालेको थियो ।
प्रतियोगिताको उपाधि विजेताले नगद २६ लाख प्राप्त गर्दा उपविजेताले १३ लाखमा पाउनेछ ।