काठमाडौं । आइतबार इङ्लिस प्रिमियर लिग (इपिएल)को पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीले लेस्टर सिटीको सामना गर्दैछ । यो खेल सिटीका लागि खास छ । किनभने मुख्य प्रशिक्षक पेप ग्वाड्रिओलाको नेतृत्वमा सिटीले ५००औं खेल खेल्दैछ । लेस्टरको घरेलु मैदान किङ पावर रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ८ः१५ बजे सुरु हुनेछ ।
स्पानिस प्रशिक्षक ग्वाड्रिओलालाई आधुनिक फुटबलकै महान प्रशिक्षकका रुपमा लिइन्छ । आज सिटीको लोकप्रियता जुन स्तरसम्म छ, त्यो सबै ग्वाड्रिओलाका कारण सम्भव भएको हो । उनी २०१६ मा इतिहाद रंगशाला आइपुगेका थिए । यो आठ वर्षको अन्तरालमा उनले क्लबलाई १८ उपाधि दिलाएका छन् । जसले उनलाई सिटीको इतिहासमा सबैभन्दा उपाधि जित्ने प्रशिक्षक पनि बनाएको छ ।
इङ्लिस फुटबलमा पछिल्लो समय सिटी निर्विकल्प दाबेदारका रुपमा रहँदै आएको छ । यस्तो किन भने सिटीले पछिल्ला चार वर्ष लिग उपाधि जितेको छ । लगातार चार पटक इङ्लिस फुटबलको शीर्ष डिभिजन जित्ने सिटी पहिलो क्लब हो ।
वर्तमान परिवेशमा ग्वाड्रिओला एउटै क्लबमा धेरै वर्ष बिताउने प्रशिक्षक हुन् । उनले सिटीमा काम गर्न थालेको आठ वर्षभन्दा धेरै भइसक्यो । उनीभन्दा पछाडि छन् ब्रेन्टफर्डका थोमस फ्रान्क । फ्रान्क ६ वर्षयता ब्रेनटफर्डमा सेवान्वृत छन् ।
ग्वाड्रिओलाले २०१७/१८, १८/१९ तथा २०२१ देखि २४ गरि कूल ६ लिग उपाधि जितेका छन् । जसमध्ये पहिलो उपाधि उनका लागि खास रह्यो । उनले उक्त सिजन १०० अंकका साथ उपाधि चुमेका थिए । सिजन २२/२३ सिटीका लागि अर्को खास वर्ष रह्यो । यो यस्तो वर्ष रह्यो जहाँ सिटीले युरोपियन ट्रेबल हासिल गर्यो । इस्टानबुलमा भएको युइएफए च्याम्पियन्स लिग फाइनलमा सिटीले इन्टर मिलानलाई १-० ले पराजित गर्दै पहिलो पटक युरोपियन फुटबलको उपाधि उचालेको थियो । सहरी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराउँदै सिटीले घरेलु फुटबलको प्रतिष्ठित प्रतियोगिता एफए कपको पनि उपाधि जितेको थियो । युरोपियन ट्रेबल जित्ने सिटी आठौं टोली रह्यो ।
ग्वाड्रिओला ५०० खेलको आंकडा पूरा गर्ने सिटीका दोस्रो प्रशिक्षक हुन् । यसअघि स्कटिस प्रशिक्षक लेस मेकडोवलले १९५० देखि १९६३ को अन्तरालमा ५९२ पटक क्लबको नेतृत्व गरेका थिए ।
ग्वाड्रिओलाले ७०.९४ प्रतिशत अर्थात कूल ३५४ खेलमा जित हासिल गरेका छन् । प्रिमियर लिगमा सिटीले उनको नेतृत्वमा ३२२ खेल खेलेको छ । जसमध्ये २३३ खेल सिटीको पक्षमा गएको छ । च्याम्पियन्स लिगमा ९३ खेलमध्ये ६० खेलमा सिटीले जित हासिल गरेको छ । यसबीच सिटीले १,२११ गोल गर्दा मात्र ४२९ खाएको छ ।
लिग उपाधिका हिसाबमा ग्वाड्रिओलाभन्दा अगाडि मात्र एक नाम छन् । उनी हुन् युनाइटेडका पूर्व प्रशिक्षक एलेक्स फर्ग्युसन । स्कटिस प्रशिक्षक फर्गुसनले युनाइटेडमा २६ सिजन बिताउँदा टोलीलाई १३ पटक च्याम्पियन बनाए ।