नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा मेयर कप पुरुष फुटबल प्रतियोगिता प्रतियोगिता नेपालगन्ज रंगशालामा माघ ५ गतेदेखि हुने भएको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले माघ महिनामा जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
प्रतियोगिताको तयारी सुरु भैसकेको अध्यक्ष शाहीले बताए । यस पटक महिला र पुरुष मेयर कप फुटबल प्रतियोगिता छुटा-छुटै मितिमा आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
अध्यक्ष शाहीले भने ‘बाँके जिल्लाभरीको विद्यालयहरुको सहभागिता हुने भएकोले मेयर प्रतियोगितामा पुरुष र महिलाको फरक–फरक मितिमा गर्ने निर्णय गरेका छौं । यसले व्यवस्थापनमा पनि सहज हुने र प्रतियोगिताबाट प्रतिभावान खेलाडी छनोटमा सहयोग पुग्नेछ ।’
बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि गर्दै आएको मेयर कपमा जिल्लाका आठ स्थानीय तहका निजी तथा सामुदायीक विद्यालयको सहभागिता हुने गरेको छ ।
मेयर कप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरेर अन्य जिल्लासँग मैत्रीपुर्ण खेल खेल्ने संघको योजना छ । गत वर्ष प्रतियोगिताबाट छानेर तयार पारिएको टोलीले कैलालीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
कप फुटबल प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने संघले अनुमान गरेको अध्यक्ष शाहीले बताए ।