काठमाडौं । गोलकिपर निरज चौधरी नायक बन्दा दार्जिलिङको जिटिए क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै राष्ट्रिय जागृति क्लब झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमलाल राजंवंशी रंगशालामा मंगलबार पेनाल्टी सुटआउटमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार भने बारमा लागेर फर्कियो ।
जिटिएका आशिष देवान र प्रितम राईले मात्र गोल गर्न सके । अंगद थापामगर र भाइचुङ राईको प्रहार राष्ट्रिय जागृतिका गोलकिपर निरज चौधरीले बचाउ गरे ।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
खेलको १७औं मिनेटमा प्रवेश बस्नेतले गोल गर्दै जागृतिलाई अग्रता दिलाएका थिए । तीन मिनेटपछि नै पाएको पेनाल्टीलाई मिलन राईले सदुपयोग गर्न नसक्दा जागृतिले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।
देवाशिष राईले २२औं मिनेटमा जिटिएका लागि बराबरी गोल फर्काए ।
मिलन राईले रातो कार्ड ब्यहोदै मैदान छाडेपछि जागृति ६८औं मिनेटमा जागृति १० खेलाडीमा समेटिएको थियो । तर जिटिएले त्यसको फाइदा उठाउन सकेन ।
बुधबार तेस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्टस क्लब प्रतिस्पर्धा गर्नेछन् ।