काठमाडौं । जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मंगलबार चर्च ब्वाइज युनाइटेडविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै १६ खेलमा २२ अंक जोडेको जावलाखेल आठौं स्थानमा छ । पराजित चर्च ब्वाइज समान खेलबाट १५ अंकका साथ नवौं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन विवस दर्लामीले दुई तथा धर्वेन्द्र कुँवरले एक गोल गरे । चर्च ब्वाइजका लागि उर्गेन रुम्बाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।
खेलको चौथो मिनेटमै धर्वेन्द्रको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । ३०औं मिनेटमा विवसले टोलीको अग्रता दोब्बर बनाए ।
उर्गेनले ४३औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । ४५औं मिनेटमा विवसले व्यक्तिगत दोस्रो गोल गर्दा जावलाखेल ३-१ ले अगाडि बढ्यो ।
दिनेश अधिकारीबाट ५३औं मिनेटमा आत्मघाती गोल हुनपुग्दा चर्च ब्वाइजले खेलमा फर्किने संकेत गरे पनि त्यो पर्याप्त बन्न सकेन ।