काठमाडौं । थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार लिग लिडर न्युरोड टिम (एनआरटी) विरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै १४ खेलमा २६ अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा उक्लिएको छ । हारका बाबजुद एनआरटी समान खेलबाट २८ अंकका साथ शीर्षस्थानमा कायम छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन न्युसन राई, विजय उराँव र रोमन श्रेष्ठले गोल गरे ।तीनै गोल दोस्रो हाफमा भएका थिए ।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै एनआरटी १० खेलाडीमा समेटियो । पुकार गोलेले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेका थिए । त्यसपछि थ्री स्टार आक्रमक बन्यो ।
न्युसनको गोलमार्फत ५५औं मिनेटमा थ्री स्टारले अग्रता लिएको थियो । निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा विजयले टोलीको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा रोमनले गोल गर्दै थ्री स्टारलाई सहज जित दिलाए ।
लिगअन्तर्गत आइतबारै सम्पन्न पहिलो खेलमा एपिएफ र खुमलटार १-१ को बराबरीमा रोकिए ।