नेपालगन्ज । लुम्बिनी कप महिला फुटबल फागुन अन्तिम साता नेपालगन्जमा हुने भएको छ । बाँके जिल्ला फुटबल संघसँगको सहकार्यमा अन्तरालले प्रतियोगिता आयोजान गर्ने भएको हो ।
राष्ट्रिय महिला टोलीकी पहिलो कप्तान रमा सिंह र हालको कप्तान अन्जिला तुम्बापो सुब्बाले आइतबार प्रतियोगिताको लागो सार्वजनिक गरे ।
प्रतियोगिताको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक (राताे) रंग समेटिएको छ ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागीता रहनेछ ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपुर्ण सावित हुने धारणा राखे । ‘लुम्बिनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुनेछ । उसले महिला फुटबलको विकाशमा टेवा पुर्याउने आपेक्षा राखेका छौं । आगामी वर्षहरुमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्नेछा’, शाहले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने बताए । उनले प्रतियोगितालाई सफल बनाउन एन्फाको साथ रहने प्रतिबद्धता जनाए ।
कप्तान अन्जिलाले नेपालगन्जमा राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुनु राम्रो संकेत रहेको धारणा राखिन् । ‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो । यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ । देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ,’ अन्जिलाले भनिन् ।