काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीविरुद्ध टोटनहमले इङ्लिस प्रिमियर लिगमा चार गोल गरेको छ ।
शनिबार राति सिटीको घरेलु मैदान इत्तिहादमा टोटनहमले दुबै हाफमा समान दुई गोल गरेको हो । पेप ग्वार्डिओलाको प्रशिक्षणमा सिटीको यो सबैभन्दा खराब प्रदर्शन हो । यसअघि टोली लगातार चार खेलमा पराजित भइसकेको छ ।
अक्टोबर २६ मा साउथह्याम्पटनलाई १–० ले हराएयता सिटी टोटनहम, बर्नाबेउ, स्पोर्टिङ सिपी र ब्राइटनसँग पराजित भएको हो ।
प्रिमियर लिगमै तेस्रो हारपछि सिटीलाई तालिकामा समेत धक्का लागेको छ । एक खेल कम खेलेको लिभरपुलभन्दा टोली पाँच अंकले पछाडी छ ।
१२ खेलबाट सिटीको २३ अंक छ । लिभरपुल २८ अंकसहित शीर्ष स्थानमा यथावत छ । छैटौं जित निकालेको टोटनहम १९ अंकसहित छैटौं स्थानमा उक्लियो ।
भ्रमणकारी टोली टोटनहमको जितमा जेम्स म्याडिसनले १३ र २०औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध बनाएका थिए । पेड्रो पोरोले ५२औं मिनेटमा तेस्रो तथा ब्रेनान जनसनले इन्जुरी समयमा गोल गर्दै सहज जित दिलाएका हुन् ।