काठमाडौं । कप्तान एर्लिन हाल्यान्डको उत्कृष्ट प्रदर्शनप्रेरित नर्वेले युइएफए नेसन्स लिगमा आइतबार काजकिस्तानविरुद्ध ५-० को सानदार जित दर्ता गरेको छ ।
जितसँगै ६ खेलमा १४ अंक जोडेर नर्वे लिग ‘बी’ समूह-३ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित काजकिस्तान समान खेलबाट एक अंकका साथ पुछारमा छ ।
उलेभाल रंगशालामा घरेलु टोली नर्वेलाई जित दिलाउन हाल्यान्डले ह्याट्रिक पूरा गर्दा एलेक्सजेन्डर सोर्लोथ र एन्टोनियो नुसाको नाममा समान एक गोल रह्यो ।
खेलको २३ र ३७औं मिनेटमा हाल्यान्डले गोल गर्दा नर्वे २-० ले अगाडि बढेको थियो । ४१औं मिनेटमा सोर्लेथले टोलीका लागि तेस्रो गोल गरे ।
नुसाले ६७औं मिनेटमा गोल गर्दा नर्वे ४-० ले अगाडि बढ्यो । चार मिनेटपछि नै हाल्यान्डले ह्याट्रिक पूरा गर्दै नर्वेलाई ५-० को सानदार जित दिलाए ।
योसँगै हाल्यान्ड सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले आफ्नो गोल संख्या सातमा पुर्याएका छन्।
यही समूहको अर्को खेलमा अस्ट्रिया स्लोभेनियासँग १-१ को बराबरीमा रोकिएको छ ।