काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबमाथि ४-२ को पुनरागमन जित हासिल गर्दै न्युरोड टिम(एनआरटी) ललित स्मृति एन्फा यु–१८ युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
जितसँगै १० खेलमा एनआरटीले १९ अंक जोडेको छ । हारले अंक दूरी बढाउने पुलिसको योजनामा धक्का लागेको छ । शीर्ष स्थानमा यथावत पुलिसको यो पहिलो हार हो । पुलिसको समान खेलबाट २३ अंक छ ।
आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा एनआरटीलाई जित दिलाउन इशान शाहले दुई गोल गर्दा सन्तोष गोङ्बा र विज्ञान खड्काले एक-एक गोल गरे । पुलिसका लागि दुवै गोल साजन राज गौतमले गरे ।
खेलको छैटौं मिनेटमै सन्तोषको गोलमा एनआरटीले अग्रता लिएको थियो । तर एनआरटीको यो अग्रता पाँच मिनेट पनि टिक्न सकेन । ११औं मिनेटमा साजनले पुलिसलाई खेलमा फर्काए । सात मिनेटपछि साजनको व्यक्तिगत दोस्रो गोलमा पुलिसले खेलमा अग्रता लियो ।
पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा एनआरटीले दुई गोल गर्यो । इशान र विज्ञानको गोलमा एनआरटीले पहिलो हाफ सकिँदा ३-१ को अग्रता लिएको थियो । दोस्रो हाफको सातौं मिनेटमा इशानको दोस्रो गोलमा एनआरटीले अग्रतालाई ४-२ मा पुर्यायो । त्यसपछि पुलिसले खेलमा फर्किन कोशिस गरेपनि सफल भएन र लिगकै पहिलो हारको सामना गर्यो ।
पुलिसले यसअघि सात खेलमा जित हासिल गर्दा दुई खेलमा अंक बाँडेको थियो ।