काठमाडौं । युइएफए नेसन्स लिगमा जर्मनीले शनिबार पाहुना टोली बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध ७-० को फराकिलो जित दर्ता गरेको छ ।
यससँगै आफ्नो अपराजित यात्रा कायम राखेको जर्मनी पाँच खेलमा १३ अंक जाड्दै लिग ‘ए’ समूह-३ को शीर्षस्थानमा कायम छ । पराजित हर्जगोभिनिया समान खेलबाट एक अंकका साथ पुछारमा छ ।
युरोपा पार्क रंगशालामा जर्मनीलाई जित दिलाउन फ्लोरियन विर्ट्ज र टिम क्लेनडिएन्स्टले समान दुई तथा जमाल मुसियाला, काइ हाभर्ट्ज र लिरोय सानेले समान एक गोल गरे ।
खेलको दोस्रो मिनेटमै मुसियालाको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । २३औं मिनेटमा क्लेनडिएन्स्टले टोलीको अग्रता दोब्बर बनाए ।
हाभर्ट्जले ३७औं मिनेटमा गोल गर्दा जर्मनीले पहिलो हाफमै ३-० को अग्रता लियो । जर्मनीले दोस्रो हाफमा चार गोल थप्यो ।
विट्जले ५०औं मिनेटमा टोलीका लागि चौथो गोल गरे । सात मिनेटपछि नै विट्जले व्यक्तिगत दोस्रो गोल गर्दा जर्मनी ५-० ले अगाडि बढ्यो ।
सानले ६६औं मिनेटमा जर्मनीका लागि छैटौं गोल गरे । ७९औं मिनेटमा क्लेनडिएन्स्टले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ७-० को फराकिलो जित दिलाए ।