काठमाडौं । युइएफए नेसन्स लिगमा बिहीबार इङ्ल्यान्डले घरेलु टोली ग्रिसविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै पाँच खेलमा १२ अंक जोडेको इङ्ल्यान्ड लिग ‘बी’ को समूह-२ मा शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार ब्यहोरेको ग्रिस समान खेलबाट समान अंकका साथ दोस्रो स्थानमा छ ।
एथेन्स ओलम्पिक रंगशालामा इङ्ल्यान्डका जित दिलाउन ओली वाट्किन्स र कर्टिस जोन्सले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको सातौं मिनेटमा वाट्किन्सको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । ७७औं मिनेटमा ओडिसेयस भ्लाकोडिमोसबाट आत्मघाती गोल हुन पुग्दा इङ्ल्यान्डको अग्रता दोब्बर बन्यो ।
निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा जोन्सले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
यही समूहको अर्को खेलमा आयरल्यान्डले फिनल्यान्डविरुद्ध १-० को कठिन जित निकाल्यो ।
यसैगरी अन्य खेलमा नर्वेले स्लोभेनियालाई ४-१, अस्ट्रियाले काजकिस्तानलाई २-० तथा नर्थ म्यासेडोनियाले लात्भिया र फिरोय आइल्यान्ड्सले अर्मेनियालाई समान १-० ले पराजित गरे ।