काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रालाई ११औं खेलसम्म पनि कायम राखेको छ ।
पिएसजीले शनिबार घरेलु टोली एन्जर्सविरुद्ध ४-२ को सहज जित निकाल्यो ।
जितसँगै ११ खेलमा २९ अंक जोडेको पिएसजी शीर्षस्थानमा कायम छ । पराजित एन्जर्स समान खेलबाट १० अंकका साथ १५औं स्थानमा छ ।
रेमन्ड कोपा रंगशालामा पिएसजीलाई जित दिलाउन ली काङ्ग-इन र ब्राडली बार्कोलाले समान दुई गोल गरे । एन्जर्सका लागि स्टेबन लिपउल र इम्यानुएल ब्युमलले गोल फर्काए ।
खेलको १७औं मिनेटमा काङ्ग-इनको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । तीन मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।
बार्कोलाले ३१औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा पिएसजी ४-० ले अगाडि बढ्यो ।
खेलको इन्जुरी समयमा लिपउल र ब्युमलले गोल गर्दै एन्जर्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।