काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भुटानबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ ।
प्रतियोगिताको दोस्रो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी समूह ‘बी’ को दोस्रो खेलमा नेपालले पाएका अवसरलाई सदुपयोग गर्न सकेको छैन ।
खेलको सातौं मिनेटमा नेपालले पहिलो अवसर सृजना गर्यो । तर, सवीता रानामगरको प्रहार बाहिरिँदा नेपालले अग्रता लिन सकेन । १३औं मिनेटमा नेपालले गोलको नजिक पुगे पनि फेरि अग्रता लिनबाट चुक्यो । यसपालि स्ट्राइकर रश्मीकुमारी घिसिङको प्रहार भुटानी गोलकिपर संगीता मोन्गरले बचाइन् । त्यसको चार मिनेटपछि सवीताको सुन्दर थ्रु पास मिडफिल्डर प्रीति राईले खेर फालिन् । विपक्षी खेलाडीको निगरानीमा नरहेकी प्रीतिको प्रहार आकाशिएको थियो ।
खेलको २०औं मिनेटमा तालमेल नमिल्दा नेपालले फेरि अर्को मौका गुमायो । सवीताको कर्नरमा रक्षक गिता रानाको हेडरले दोस्रो बारको जाली चुम्नै लाग्दा बल फरवार्ड अमिषा कार्कीसँग ठोक्किँदै बाहिरिएको थियो । त्यसको पाँच मिनेटपछि प्रीतिको सुन्दर थ्रु पासमा मिडफिल्डर सरु लिम्बुको प्रहार पनि बाहिरिँदा पहिलो हाफ गोलरहितमा समाप्त भएको हो ।
शुक्रबार नै भएको दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । जितसँगै श्रीलंकाले समूह ‘बी’मा स्पष्ट तीन अंक जोड्यो ।