काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसएमई)ले एन्फासँग फागुन र चैतको समय मागेको छ ।
नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा र एनएसएमईबीच एनएसएल आयोजनाका लागि गत वर्ष सात वर्षको सम्झौता भएको थियो ।
आफ्नै लिगको पिरामिड पूरा गर्न नसकिरहेको एन्फाले एनएसएलका लागि माघ २० देखि चैत २ सम्मको समय छुट्याएको थियो । तर आयोजक एनएसएमईले चैत १६ देखि प्रतियोगिता सुरु गरेर ४० दिनको समय माग गरेको एन्फाका एक पदाधिकारीले जानकारी गराए ।
एन्फा र एनएसएमईबीच भदौदेखि कार्तिकको बीचमा एनएसएलको तेस्रो संस्करण आयोजना गर्ने सम्झौता भएको थियो । तर सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पुरुष राष्ट्रिय टोलीका लागि फिफा डेट तथा अक्टोबरमा काठमाडौंमै महिला साफ च्याम्पियनसिप रहेकाले यसबीचमा एनएसएल गर्न नसकिएको ती पदाधिकारीले बताए । जवकि एन्फाले सेप्टेम्बरको फिफा डेटमा राष्ट्रिय टिमका लागि कुनै खेल राखेन ।
कार्तिकसम्ममा एनएसएल सम्पन्न गर्ने र त्यसपछि मंसिरमा लिगको प्रिसिजन सुरु गर्ने एन्फाको प्रारम्भिक योजना थियो । पुसमा शीर्ष डिभिजनको लिग गर्ने एन्फाको योजना थियो ।
‘तर दुई वर्षदेखि ‘बी’ डिभिजनको लिग हुन नसकेका कारण यसपाली ‘ए’ डिभिजन पनि गर्न सकिने प्रयाक्टिकल सम्भावना रहेन,’ एन्फाका ती पदाधिकारीले भने ।
शीर्ष डिभिजनको लिग गर्न एन्फालाई एपिएफ र थ्री स्टारको विवाद सुल्झाउन नसकेर पनि समस्या भइरहेको बताइन्छ । गतवर्ष सम्पन्न लिगमा जावलाखेलविरुद्धको खेलमा थ्री स्टारले अवैधानिक खेलाडी खेलाएको भन्दै एपिएफले उजुरी गरेको थियो ।
लिगमा एपिएफ र खुमलटार रेलिगेसनमा परेका थिए । एपिएफको उजुरीअनुसार कार्वाही गरे थ्री स्टार शीर्ष डिभिजनबाट घटुवा हुन्छ । त्यससँगै खुमलटारको शीर्ष डिभिजनमा रहेको अनौपचारिक हैसियत पनि समाप्त हुन्छ । यसकारण भोटको राजनीतिमा मग्न एन्फाले उजुरी परेको १५ महिना नाघिसक्दा पनि निर्णय गर्न सकेको छैन ।
‘बी डिभिजनको लिगका साथै थ्री स्टार र एपिएफको मुद्धामा निर्णय गर्न नसकेपछि एन्फाले सहिद स्मारक लिगको पिरामिडलाई अलपत्र छोड्दै प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिगको बहानामा भाग्ने योजना बनाएको छ । प्रेसिडेन्ट लिग र राष्ट्रिय लिग गरेर ६ महिना प्रतियोगिता सञ्चालन गरे मात्र फिफाको पैसा प्रयोग गर्न पाइन्छ ।
फिफाको पैसा चलाउनका लागि एन्फाले जिल्ला लिग र प्रदेश लिगलाई जोडेर ६ महिनाको प्याकेज बनाउने योजना बनाएको छ । यसैगरी प्रेसिडेन्ट्स लिग र राष्ट्रिय लिगलाई जोडेर ६ महिनाको प्याकेज बनाउने रणनीतिअनुसार काम गरिरहेको बताइएको छ । यही प्रेसिडेन्ट्स लिग र राष्ट्रिय लिगको बीचमा ब्रेक गरेर एनएसएललाई समय दिने योजना छ ।
‘फिफाको नियमअनुसार प्रतियोगिता लगातार ६ महिना हुनुपर्ने होइन । सुरु भएपछि ६ महिनासम्म चल्नुपर्ने मात्र हो । यही भएर दुई प्रतियोगिताको बीचमा एनएसएल गर्न सकियो भने कम खर्चमा ६ महिना बिताउन सकिन्छ,’ एन्फाका पदाधिकारीले भने ।
एनएसएलको आयोजक आइएसएमईका निर्देशक श्रीयांश कार्कीले सन् २०२५ को सुरुमा आगामी तेस्रो संस्करण गर्ने तयारीअनुसार छलफल अघि बढिरहेको बताए । पल्सर स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै कार्कीले भने, ‘हामी नयाँ वर्ष लागेसँगै तेस्रो एनएसएल गर्ने तयारीमा छौं । जनवरी वा फेब्रुुअरीमा प्रतियोगिता सुरु गर्ने योजना छ । त्यहीअनुसार मिति तोक्नका लागि छलफल चलिरहेको छ ।’
गतसाता एन्फामा तेस्रो संस्करणको मिति तोक्ने विषयमा एन्फा र आयोजक आइएसएमईबीच प्रारम्भिक छलफल भएको एन्फा प्रवक्ता सुरेश शाहले पुष्टी गरे । ‘कुनै पनि निर्णय भएको छैन । तर एनएसएलको मिति तोक्ने विषयमा दुवै पक्षबीच प्रारम्भिक चरणमा छलफल भएको हो । चाढै दुई पक्षको सहमतीमा मिति तोकिनेछ,’ शाहले खेलाडी डटकमसँग भने ।
बैठकमा आइएसएमईको तर्फबाट निर्देशक कार्की र प्रतियोगिताका प्रमूख कार्यकारी अधिकृत (सिइओ) सुदीप शर्मा सहभागी थिए । एन्फाका तर्फबाट महासचिव किरण राई, सिइओ इन्द्रमान तुलाधर, प्रतियोगिता समितिका निर्देशक सञ्जीव मिश्र, प्रवक्ता शाहलगायतका पदाधिकारीहरु सहभागी थिए ।