काठमाडौं । एएफसी र फिफाको प्रारम्भिक संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा युएईले नेपालविरुद्ध पहिलो हाफमा चार गोलको अग्रता लिएको छ ।
अल मौकटम रंगशालामा बिहीबार जारी खेलमा युएईले नेपालविरुद्ध तीन सेटपिस अवसरलाई गोलमा परिणत गर्दा एक गोल काउन्टर अट्याकमा गर्यो । युएईका लागि कप्तान अली एहमद माबखाउतले दुई तथा खलिफा मुबारक अलहमादी र फाबियो लिमाले समान एक गोल गरे ।
खेलको सुरुआती मिनेट देखि नै नेपालमाथि आक्रमक देखिएको युएईले दशाैं मिनेटमा पहिलो गोल गर्यो । फरवार्ड अलि सालेह आम्रोको क्रसमा पेनाल्टी बक्सभित्र रहेका रक्षक अलहमादीको सहज हेडर गोलमा परिणत हुँदा युएईले अग्रता बनाएको हो । आम्रोले यसअघि मिडफिल्डर अबदल्ला रमादन बेखितको क्विक कर्नरको सदुपयोग गरेका थिए ।
खेलका दौरान चोट बोक्न पुगेका लाकेन लिम्बुको स्थानमा आएका अम्रित श्रेष्ठले ३८ औं मिनेटमा पेनाल्टी बक्सभित्र बेखितलाई लडाएपछि युएईले पेनाल्टी पाएको थियो । जसलाई कप्तान माबखाउतले कुनै गल्ती गरेनन् ।
खेलको तेस्रो गोल पनि कर्नरको सदुपयोगबाट भएको हो । नेपाली रक्षकको तालमेल नमिल्दा निर्धारित पहिलो हाफ सकिन एक मिनेट बांकी छँदा कप्तान माबखाउतको सहज हेडर गोलमा परिणत भयो । इन्ज्युरी समयमा लिमाले बेखितको क्रसमा काउन्टर अट्याकमा वान टच गोल गरे ।