स्पेनिस ला लिगा

केपा मड्रिडमा अनुबन्ध

Kepa Arrizabalaga

काठमाडाैं। स्पेनिस महारथी रियाल मड्रिडले इङ्लिस क्लब चेल्सीका गोलकिपर केपा एरिजाबालागालाई एक सिजनका लागि  भित्र्याएको छ ।

नयाँ सिजन सुरु हुने पूर्वसन्ध्यामा पहिलो रोजाइका गोलकिपर थिबाउट कोर्टोइसले एसिएलको चोट बोकेपछि रियाल नयाँ गोलकिपरको खोजीमा थियो ।

गत शनिबार मात्रै रियालले स्पेनिस अन्तर्राष्ट्रिय केपालाई नयाँ विकल्पका रुपमा हेरेको थियो ।  त्यसकाे दुई दिनपछि सोमबार रियालले एक विज्ञप्ति जारी गर्दै केपालाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको घोषणा गरेको छ ।

 कोर्टोइसले २०२३/२४ को अधिकांश खेल गुमाउने भएपछि रियाल नयाँ गोलकिपर अनुबन्ध गर्ने निर्णयमा पुगेको हो । बेल्जियन अन्तर्राष्ट्रिय  कोर्टोइस अर्को वर्षको अप्रिलमा मात्र मैदानमा फर्कन सक्ने अनुमान गरिएको छ ।

 कोर्टोइसको अनुपस्थितिमा रियालले सिजनको पहिलो खेलमा एथलेटिको बिल्बाओविरुद्ध निर्विकल्प गोलकिपर अन्द्रिय लुनिनलाई मैदानमा उतारेको थियो ।

२०१८ मा रियाल अनुबन्ध भएका २४ वर्षीय लुनिनका लागि बिल्बाओविरुद्धको खेल ला लिगा करियरकै १०औं खेल थियो । खेलमा रियालले २-० को जित हासिल गरेको थियो ।

केपा पछिल्लो केही वर्ष चेल्सीको पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका थिए । उनका सहकर्मी इड्वार्ड मेन्डी र उनीबिच पहिलो रोजाइका लागि प्रतिस्पर्धा भइरहेको थियो ।

गत सिजन भने उनले सुरुआती रोजाइमै अधिकांश खेलहरुमा प्रतिनिधित्व गरेका थिए । कूल ३९ खेलमा केपाले १२ क्लीन सिट राखे । मेन्डी पनि यसै सिजन साउदी क्लब अल अहलीमा अनुबन्ध भइसकेका छन् ।

चेल्सीका लागि अब गोलपोस्टको जिम्मेवारी रोबर्ट सान्चेजले सम्हाल्नेछन् । रोबर्टलाई ब्राइटनबाट चेल्सीले यसै महिना मात्र क्लबमा भित्र्याएको थियो ।

२८ वर्षिय केपा पाँच वर्ष अगाडि ७१.६ मिलियन पाउन्डमा चेल्सी भित्रिएका थिए । रियालले मंगलबार दिउँसो केपालाई आधिकारिक रुपमा प्रस्तुत गर्नेछ ।