सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा चर्च ब्वाइजलाई १-० को अग्रता

फाइल तस्बिर

काठमाडौं ।  सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ समाप्त हुँदा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले हिमालयन शेर्पा क्लबविरुद्ध १-० को अग्रता लिएको छ ।

खेलको २० औं मिनेटमा एरिक विष्टको सुन्दर पासको सदुपयोग गर्दै आशिष चौधरीले  उत्कृष्ट गोल गरेका थिए । त्यसको तीन मिनेटपछि चर्च ब्वाइजले अग्रता दोब्बर बनाउने अवसर गुमायो । मिलन राईको प्रहार हिमालयन शेर्पाका गोलकिपर विवश चौधरीले बचाए । 

 छैटौं मिनेटमा एरिक विष्टको प्रहार विवशले  बचाएका थिए । १५ औं मिनेटमा हिमालयन शेर्पाका पिस्टोने डोम्बियाको फ्रि किक चर्च ब्वाइजका गोलकिपर प्रिशो एनजांगाले बचाए ।

३७ औं मिनेटमा सत्यम शर्माको फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरिँदा हिमालयन शेर्पाले बराबरी गर्ने अवसर गुमाएको थियो ।

लिगमा चर्च ब्वाइज लगातार तेस्रो तथा हिमालयन शेर्पा दोस्रो जितको खोजीमा छन् । यसअघि चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ तथा एफसी खुमटारलाई ३-१ ले पराजित गरेको थियो । हिमालयनले  मनाङ मर्स्याङदी क्लबसँग १-१ को बराबरी खेल्दा पुलिसलाई १-० ले पराजित गरेको थियो ।