काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले बुधबार जारी गरेको ट्वान्टी-२० टिम वरियतामा नेपाल १७ औं स्थानमा कायम रहेको छ ।
फेब्रुअरी ७ देखि सुरु हुने विश्वकपको आयोजक भारत १९ हजार ३१२ अंकका साथ शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ । आइसिसीले वर्ष २०२५ को अन्त्यमा निकालेको बरियताका लागि भारतले कुल ७१ खेल खेल्दा अस्ट्रेलियाले ४२ खेलमा ११ हजार ६०९ अंक प्राप्त गरेको छ ।
यसैगरी इङ्ल्यान्ड तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, वेस्ट इन्डिज छैटौं, पाकिस्तान सातौं तथा विश्वकपको सहआयोजक श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान विश्व टिम वरियताको १० औं स्थानमा छन् ।

१७ औं स्थानमा रहेको नेपालभन्दा माथि आयरल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) पनि छन् । नेपालले वर्ष २०२५ मा ४२ खेल खेल्दै ७ हजार ३८४ अंक जोडेको थियो ।
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपमा नेपाल समूह ‘सी’ मा बंगलादेश, इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँगै परेको छ ।
नेपालको समूहका सबै खेल मुम्बईको वाङखडे रंगशालामा हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इङ्ल्यान्डसँग फेब्रुअरी ८ मा प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो खेलमा फेब्रुअरी १२ मा इटालीसँग खेलेको तीन दिनपछि नेपालले तेस्रो खेलमा वेस्ट इन्डिजको सामना गर्नेछ । समूहको अन्तिम खेलमा नेपालले फेब्रुअरी १७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
