काठमाडौं । एसिसी यु–१९ एसिया कपमा आज नेपालले बंगलादेशको सामना गर्दैछ । खेल दुबईमा नेपाली समयअनुसार पौने ११ बजे सुरु हुनेछ ।
नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ । प्रतियोगिताको आफ्नो खेलमा नेपाल निराशाजनक प्रदर्शन गर्दै टेष्ट राष्ट्र श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । यदि बंगलादेशविरुद्ध हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना एक खेलअघि नै समाप्त हुनेछ ।
बंगलादेश भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल बलियो बनाउन चाहन्छ । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई १९ रनले पराजित गरेको थियो ।
प्रतियोगिताका बंगलादेश अजिजुल हाकिकको कप्तानीमा खेलिरहेको छ । नेपालको कप्तानी अशोक धामीले गरिरहेका छन् । नेपालले एसिया कपकै लागि विपिन शर्मा र युवराज खत्रीलाई टोलीमा समावेश गरेको थियो । तर, दुबै खेलाडी पहिलो खेलमा बेन्चमै रहे ।
समूह ‘बी’ को खेलमा श्रीलंका र बंगलादेशको सामना दुई अंक रहेको छ । दुबै टोली सोमबार जित निकाल्दै सेमिफाइनल पक्का गर्ने योजनामा छन् । पहिलो खेलमा नेपाल र अफगानिस्तान भने जितविहिन रहे । दुबै टोली प्रतियोगितामा पहिलो अंकको खोजीमा समेत रहेका छन् ।
यस्तै समूह ‘ए’ मा भारतले दुबै खेल जित्दै ४ अंक जोडेको छ । पाकिस्तान र युएईले समान दुई अंक जोड्दा मलेसिया पुछारमा छ ।
