काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा शुक्रबारबाट सुरु भएको एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ । समूह ‘बी’ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भयो ।
शनिबार दुबईको दि सेभेन्स रंगशालामा भएको खेलमा नेपालले दिएको ८३ रनको झिनो लक्ष्य श्रीलंकाले १४.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
श्रीलंकाको जितमा ओपनर डिमन्था महाभिथनाले ३९ रन बनाए । त्यस्तै कभिजा गमेजले २४ र ओपनर भिरान चमुदीथाले १० रन जोडे ।
नेपालका लागि दयानन्द मन्दलले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८२ रनको योगफल बनायो । नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक १८ रन बनाए । त्यस्तै ओपनर साहिल पटेलले १२ र निरज कुमार यादवले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
श्रीलंकाका लागि सेथमिका सेनेभिरान्थेले पाँच विकेट लिए । त्यस्तै रासिथ निम्सारा, भिग्नेस्वरन आकाश, दुल्निथ सिगेरा र चमिका हिनातिगलाले समान एक विकेट लिए ।
नेपालले सोमबार आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ ।
