काठमाडौं । क्विनटन डी कक र ओटनिल बार्टम्यानको उत्कृष्ट प्रदर्शनप्रेरित दक्षिण अफ्रिकाले टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतविरुद्ध ५१ रनको जित दर्ता गरेको छ ।
दक्षिण अफ्रिकको जितसँगै पाँच खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिले खेलमा भारत १०१ रनले विजयी भएको थियो ।
बिहीबार न्यु चन्डिगढस्थित महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको भारत १९.१ आोभरमा १६२ रनमा समेटियो ।
भारतका लागि तिलक वर्माले ३४ बलमा पाँच छक्का र दुई चौकासहित सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी जितेश शर्माले २७, अक्षर पटेलले २१, हार्दिक पाण्डेयाले २० र अभिषेश शर्माले १७ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि बार्टम्यानले चार तथा लुंगी एनगिडी, मार्को यानसन र लुथो सिपाम्लाले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २१३ रनको योगफल तयार पारेको थियो ।
दक्षिण अफ्रिकाका लागि डी ककले ४६ बलमा सात छक्का र पाँच चौकासहित सर्वाधिक ९० रनको योगदान गरे । यसैगरी डोनोभान फरेराले अविजित ३०, कप्तान एडेन मार्करमले २९, डेविड मिलरले अविजित २० र डिवाल्ड ब्रेभिस १४ रन बनाए ।
दोस्रो विकेटका लागि डी कक र मार्करमले ८३ तथा पाँचौं विकेटका लागि फरेरा र मिलरले अविजित ५३ रनको साझेदारी गरेका थिए ।
भारतका लागि वरुण चक्रवर्तीले दुई र अक्षर पटेलले एक विकेट लिए । शृंखलाको तेस्रो खेल आइतबार हुनेछ ।
