काठमाडौं । हिक्मत महरा नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन् ।
सुदूरपश्चिमले आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट तिव्रगतीका बलर हिक्मत उत्कृष्ट ठहरिए ।
धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै ३०० सहभागी थिए । जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरणमा गरेर खेलाडी छनोट गरेको हो ।
हिक्मतले अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपिएल खेल्ने छन् । आइकोनिक बाहेक अन्य पाँत खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ ।
ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइराला डेभलपमेन्ट टिममा छन् ।
हिक्मत बिट दी स्पिडमा १३१ किलोमीटरको स्पिडमा बलिङ गर्दै पहिलो भए भने अभिषेक १२५ किलोमीटरको स्पिडका साथ दोस्रो स्थानमा रहे ।
सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।
यसैगरी टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
