काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि अफगानिस्तानका पूर्व कप्तान गुल्बदिन नइबलाई अनुबन्ध गरेको छ ।
लुम्बिनी लायन्सले विज्ञप्तिमार्फत सोमबार नइबलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
उनी लुम्बिनी भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले स्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राकालाई अनुबन्ध गरेको थियो ।
३४ वर्षीय नइबले ७५ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा तीन अर्धशतकसहित ९४५ रन बनाउनुका साथै ३३ विकेट लिएका छन् ।
उनले समग्रमा १७० टी-ट्वान्टी खेल खेल्दा २ हजार ५०० भन्दा धेरै रन बनाउँदा १०१ विकेट पनि लिएका छन् ।
उनले इन्डियन प्रिमियर लिगसँगै अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र आइएलटी २० जस्ता फ्रेन्चाइज लिग खेलेका छन् ।
रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनीले विवेककुमार यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अविनाश गौतमलाई दोस्रो सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ ।
टिनु योहान्नन प्रशिक्षक रहेको लुम्बिनीले मिनी अक्सनबाट दिलीप नाथ, शेर मल्ल, विशाल पटेल, दुर्गेश गुप्ताका र आदिल खानलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
यो सिजन पनि लुम्बिनीसँगै साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र काठमाडौं गोर्खाज उपाधिका लागि भिड्ने छन् ।
