काठमाडौं किंग्स क्रिकेट क्लबको आयोजनामा यही साउज ९ देखि १७ गतेसम्म किंग्स टी-१० इन्डोर प्रतियोगिता आयोजना हुने भएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको दोश्रो संस्करणको घोषणा गरिएको हो । रोयल स्पोर्टस पार्कमा हुने खुला प्रतियोगितामा इन्डोर क्रिकेटकै सर्वाधिक ३२ टिमको सहभागिता रहने दाबी गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक किंग्स क्रिकेट क्लबका अध्यक्ष मिलन थापाले प्रतियोगिताको उद्देश्य युथ क्रिकेट विकास गर्दै ग्रासरुट क्रिकेटलाई प्रोत्साहन गर्नु रहेको बताए ।
यस्तै प्रतियोगिताका टेक्निकल डिरेक्टर रवीन्द्र गुप्ताले लिग र नकआउट चरणमा प्रतियोगिता सञ्चालन हुने बताए ।
सहभागी ३२ टिमलाई आठ समुहमा विभाजन गरिएको छ । हरेक समुहमाका टिमले एक अर्कासँग एक खेल खेल्नेछन् । त्यसपछि प्रत्येक समुहबाट शीर्ष टिम क्वार्टरफाइनल पुग्नेछन् ।
प्रतियोगिता आयोजनाको कुल बजेट करिब १० लाख रुपैयाँ रहेको सिजन प्रसाईंले जानकारी गराए ।