काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत सात वर्षे अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय लिए ।
३२ वर्षीय क्लासेनले इन्स्टाग्राममा भनेका छन्, ‘आज मेरो लागि दुःखको दिन हो किनभने मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहने निर्णय लिएको छु । यो निर्णय लिन धेरै समय लगाएँ, तर अब यो म र मेरो परिवारको भविष्यको लागि सबैभन्दा उपयुक्त समय हो।’
क्लासेनले गत वर्ष नै टेस्ट क्रिकेटबाट संन्यास लिएका थिए । उनले दक्षिण अफ्रिकाका लागि ६० एकदिवसीय अन्तर्राष्ट्रिय, ५८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् ।
उनले एकदिवसीय अन्तर्राष्ट्रियमा चार शतक र ११ अर्धशतकसहित २ हजार १४१ रन बनाएका छन् । यसैगरी उनले ट्वान्ट-२० मा पाँच अर्धशतकसहित १ हजार रन बनाएका थिए ।
सन् २०१८ मा भारतसँगको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करियरको सुरुआत गरेका क्लासनेले यही वर्ष न्युजिल्यान्डविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेले ।
यसैगरी उनले सन् २०८ मा भारतसँग पहिलो र गत वर्ष पाकिस्तानविरुद्ध अन्तिम ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेले ।